उदयपुरमा एकै परिवारका तीन जनाको विभत्स हत्या, टुक्राटुक्रा पारेर खोलामा फालेको अवस्थामा भेटियो शव
उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राकेस पोदारका अनुसार बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र उनीहरूका १२ वर्षका छोरा सुजन बस्नेतको हत्या भएको हो।
हत्या भएको ठाउँ भोजपुर र उदयपुरको सीमा जोडिएको क्षेत्र हो। शुक्रबार दिउँसो स्थानीयले तीन जनाको शव वादिङ खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
टुक्राटुक्रा पारेको अवस्थामा शव खोलामा भेटिएको र प्रहरीले संकलन गरेर एक ठाउँमा राखेको डीएसपी पोदारले बताए ।
उनीहरूको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा खुकुरीसहति ४० वर्षका नरबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका नरबहादुर मृतकको परिवारभित्रकै सदस्य हुन् । हत्याको कारण खुलेको छैन ।
(Source: PardaFas.Com)