प्रदेश १ का सत्ता साझेदार दलले नेकपा एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै आज दिउँसो ४ बजे प्रदेश प्रमुखसामू दाबी पेश गर्ने भएका छन्। अहिले विराटनगरमा सत्ता साझेदार दलहरुको बैठक जारी छ। बैठकमा सहभागी नेताका अनुसार दिउँसो चार बजे मुख्यमन्त्री दाबी गर्न दलहरू प्रदेश प्रमुखको कार्यालय पुग्नेछन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दललाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। झापा ५ को १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। अध्यक्ष केपी ओली निकट उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए। पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न आव्हान गरेका थिए।
एमाले र माओवादीको गठबन्धन हुँदा प्रदेशमा आरामदायी बहुमत पुग्ने अवस्था छ। ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ। प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्। कुनै पनि दलसँग एक्लै सरकार बनाउन पुग्ने बहुमत नभएका कारण यहाँ दुई वा दुईभन्दा बढी दलहरुको सहभागितामा सरकार बन्नेछ।